काठमाडौँ । राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दलित महिला केन्द्र, नेपाल (सी.डि.डब्लु.एन) ले पाँच जिल्लाका ३९ वटा पालिकाका ७३० जना जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम तथा प्रशिक्षण गर्दै आएको छ । प्रदेश नम्बर १ को सुनसरी, झापा, मोरङ, ओखलढुङ्गा र खोटाङका स्थानीय तहका महिला र दलित महिला जनप्रतिनिधिलाई उक्त प्रशिक्षण गरिएको हो ।
केन्द्रले सन् २०१९ देखि प्रदेश १ का २६ वटा स्थानीय तहमा महिला नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपश्चात् ३९ वटा स्थानीय तहमा कार्यक्रम सुरू गरेको छ ।
सुनसरीमा १६८, झापामा १५४, मोरङ १६२, ओखलढुङ्गामा ११४ र खोटाङमा १३२ जना महिला र दलित महिला जनप्रतिनिधिलाई प्रशिक्षण गरिएको छ । प्रशिक्षण तथा तालिम सात चरणमा सम्पन्न हुने केन्द्रले जनाएको छ ।
तालिममा स्थानीय तह र जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा प्रशिक्षण गरिएको छ । स्थानीय तहको योजना निर्माण, योजना छनौट तथा तर्जुमा, बजेट निर्माण प्रक्रिया, बजेट विनियोजन प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको छ । योजना अनुगमन, निरिक्षणलगायतका सवालमा पनि तालिमसँगै अभ्यास पनि गराइएको छ ।
साथै, जनप्रतिनिधिको नेतृत्व विकासका लागि सञ्जाल निर्माण, व्यक्तिगत सम्बन्ध निर्माण र विस्तार, महिला तथा दलित हकअधिकार, सञ्चार माध्यममा आफ्नो प्रस्तुती, भाषण कलालगायतका विषयमा प्रशिक्षण गरिएको छ । लैगिंक समानता र समाजिक समावेशीकरण, लैगिंकमैत्री बजेट, समावेशी विकासका बारेमा पनि तालिम प्रदान गरिएको छ । जनप्रतिनिधिलाई मेन्टरिङ पनि गरिदै आएको छ ।
इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिस्टम (आईफेस) को प्राविधिक सहयोग, स्वीस सरकार विकास सहयोग (एस.डी.सी) र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्रले ‘शी लिड्स—महिला नेतृत्व कार्यक्रम’ परियोजनामार्फत् जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दलित महिला केन्द्रले महिला र दलित महिलाको राजनीतिक अधिकार सुनिश्चित गरी राजनीतिमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्