काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाका महिला जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम तथा प्रशिक्षण गरिएको छ । तीन दिने प्रशिक्षणमा मानेभञ्ज्याङका १८ जना महिला जनप्रतिनिधिको सहभागिता थियो । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, मोलुङ, सुनकोशी गाउँपालिकामा पनि तालिम सम्पन्न भएको छ ।
राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दलित महिला केन्द्र, नेपाल (सी.डि.डब्लु.एन) ले पाँच जिल्लाका ३९ वटा पालिकाका ७३० जना जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम तथा प्रशिक्षण गर्दै आएको छ । प्रदेश नम्बर १ को सुनसरी, झापा, मोरङ, ओखलढुङ्गा र खोटाङका स्थानीय तहका महिला र दलित महिला जनप्रतिनिधिलाई उक्त प्रशिक्षण गरिएको हो ।
तालिममा स्थानीय तह र जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा प्रशिक्षण गरिएको छ । स्थानीय तहको योजना निर्माण, योजना छनौट तथा तर्जुमा, बजेट निर्माण प्रक्रिया, बजेट विनियोजन प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको छ । योजना अनुगमन, निरिक्षणलगायतका सवालमा पनि तालिमसँगै अभ्यास पनि गराइएको छ ।
साथै, जनप्रतिनिधिको नेतृत्व विकासका लागि सञ्जाल निर्माण, व्यक्तिगत सम्बन्ध निर्माण र विस्तार, महिला तथा दलित हकअधिकार, सञ्चार माध्यममा आफ्नो प्रस्तुती, भाषण कलालगायतका विषयमा प्रशिक्षण गरिएको छ । लैगिंक समानता र समाजिक समावेशीकरण, लैगिंकमैत्री बजेट, समावेशी विकासका बारेमा पनि तालिम प्रदान गरिएको छ । जनप्रतिनिधिलाई मेन्टरिङ पनि गरिदै आएको छ ।
इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिस्टम (आईफेस) को प्राविधिक सहयोग, स्वीस सरकार विकास सहयोग (एस.डी.सी) र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्रले ‘महिला नेतृत्व कार्यक्रम’ (शी लिड्स्) परियोजनामार्फत् जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्थानीय तहका महिला जनप्रतिनिधिलाई प्रशिक्षण

प्रतिक्रिया दिनुहोस्