काठमाडौँ । दलित महिला केन्द्र नेपालले पैरवी प्रशिक्षकलाई प्रशिक्षण गरेको छ । शी लिड्स नेपाल ः महिला नेतृत्व कार्यक्रम अन्तर्गत प्रदेश नम्बर १ का पाँच जिल्लाका १० जना प्रशिक्षकलाई पैरवी सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न भयो ।
सुनसरी, झापा, मोरङ, ओखलढुङ्गा र खोटाङका स्थानीय तहका महिला र दलित महिला पूर्व जनप्रतिनिधिको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि प्रशिक्षकलाई प्रशिक्षण गरिएको हो । दलित महिला केन्द्र नेपालका अनुसार अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका ४८३ मध्ये ११७ जना यस पटक दोहोरिएका छन । बाँकी ३६६ जना पुनः निर्वाचित भएका छैनन । नदोहोेरिएका ३६६ जना पूर्व जनप्रतिनिधिहरूको नेतृत्व तथा थप क्षमता विकासका लागि पैरवी गर्न प्रशिक्षकलाई प्रशिक्षण गरिएको हो ।
चार दिने प्रशिक्षणमा पैरवी पुनरावलोकन, पैरवीका विषयवस्तु, समस्याको बिश्लेषण र समाधान, पैरवीको उद्देश्य निर्धारण, पैरवी सन्देशको परिचय, सरोकारवाला विश्लेषण, पैरवी योजनाको तयारी, कार्ययोजनाको निर्माणलगायतका बिषयहरूमा प्रशिक्षण तथा अभ्यास गराइएको छ । प्रशिक्षणमा १० जना प्रशिक्षक, ५ जना जिल्ला संयोजक र १ जना अनुगमन तथा मुल्याकंन संयोजक गरी १६ जनाको सहभागिता थियो । दलित महिला केन्द्र नेपालले स्वीस सरकार र अस्ट्रेलियन सरकारको आर्थिक सहयोग र आईएफइएसको प्राविधिक सहयोगमा शी लिड्स नेपाल परियोजना प्रदेश नम्बर १ मा सञ्चालन गर्दै आएको छ ।
पैरवी प्रशिक्षकलाई प्रशिक्षण

प्रतिक्रिया दिनुहोस्