दलित महिला केन्द्र, काठमाडौँ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ आजबाट सुरु भएको छ । विषेशगरी नागरिक संघसंस्थाबाट देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभियानको सुरु भयो । अभियानमा क्रममा १६ दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुदै आएको छ । नेपालमा पनि ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरूद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् ।
अभियानका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएकी छन् । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा शुभकामना सन्देश दिदै उनले भनिन्, “महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्न सके मात्र महिलाविरुद्ध हुने हिंसा निर्मूल गर्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीको सुन्देशमा भनिएको छ, “नेपालको राजनीति‚ प्रशासन र अन्य सार्वजनिक क्षेत्रहरूमा समेत महिलाहरूको सहभागितामा उल्लेख्य वृद्धि भएको समाजमा विद्यमान सामाजिक–सांस्कृतिक पछौटेपनका कारण बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी प्रथाका साथै यौन दुर्व्यवहार‚ घरेलु हिंसा‚ महिला बेचबिखन र बलात्कार र हत्या जस्ता जघन्य हिंसा आजको युगमा समेत कायम रहनु सभ्य समाजको लागि कलङ्कको विषय हो ।”
प्रतिक्रिया दिनुहोस्