काठमाडौँ । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई तत्काल कारवाहीको माग गरिएको छ । अध्यक्ष यादवले स्थानीय दलित समुदायलाई जातीय भेदभाव तथा छुवाछूत गरेपछि संयुक्त राजनीतिक दलित संघर्ष समितिले तत्काल कारवाहीको माग गरेको हो ।
समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै घट्नाको तत्काल सत्यतथ्य छानवीन गरी घट्नामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायतलाई कानून अनुसार कार्वाही गर्न माग गरेको छ । अध्यक्ष यादवले २०७९ फागुन २२ गते आफ्नो आमाको १३ औं दिनको पुन्यतिथिको अवसर पारेर आयोजना गरिएको कृयाभोजमा दलित, मुश्लिम तथा गैरदलितको लागि अलग अलग साइनबोर्ड टाँसेर अलग लाइन बनाएर दलितमाथि जातीय भेदभाव र छुवाछूत गरेका थिए ।
कृयाभोजमा पानी चल्ने भनिएका गैरदलितहरु एकापट्टी बस्ने र पानी नचल्ने दलितहरुलाई अर्कोपट्टी बसेर भोज खाने व्यवस्था अध्यक्ष यादवले गरेका थिए । त्यसैगरी मुश्लिमहरुका लागि पनि अलग स्थानमा बसेर भोज खाने प्रवन्ध थियो । जातिअनुसार पानी चल्ने उच्च जातिकाहरु र दलितहरु बस्ने स्थानमा प्लेकार्ड अर्थात साइनबोर्ड नै लगाइएको थियो । दलितहरूलाई भोजन बाँड्ने स्वयंसेवकहरु पनि अलग थिए । भने गैरदलितहरुका लागि भोज पस्किनेहरु अलग थिए ।
समितिको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिनेगरी गाउँपालिकाको अध्यक्ष जस्तो पदमा निर्वाचित व्यक्ति र जिम्मेवार नेताहरु तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरु उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रुपमा संरक्षण गर्ने गरी घटाइएको यस घट्नाको हामी घोर भत्र्सना गर्दछौं । यस घट्नाको तत्काल सत्यतथ्य छानवीन गरी घट्नामा संलग्न निज गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायतलाई कानून अनुसार कार्वाही गर्न जोडदार माग गर्दछौं ।”
प्रतिक्रिया दिनुहोस्